एभरेष्टका कक्षा १२ का विद्यार्थीले गरे ११ को स्वागत

विराटनगर । ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई विराटनगर-५ स्थित एभरेष्ट स्कूलका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । आज कञ्चनजंघा बैंकेटमा स्वागत समारोहको आयोजना गर्दै स्वागत गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन, सायरी वाचनलगायतका कला प्रस्तुत गर्दै मनोरञ्जन गराए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य (प्रिन्सिपल) टिकाराम पुरीले हरेक विद्यार्थीले भविष्यका लागि लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।

लक्ष्य बिनाको जीवन सार्थक नहुने भन्दै उहाँले पहिला भविष्यमा के बन्ने त्यो लक्ष्य तय गरेर त्यसको प्राप्तिको लागि अनुशासित भइ आत्मविश्वासको साथ मेहनत गर्न सुझाव दिनुभयो । लक्ष्य प्राप्तिको बाटोमा अघि बढ्दा कहिलेकाहीँ चुनौती समेत आइपर्ने भन्दै उहाँले त्यस्ता चुनौतीलाई आत्मविश्वासले सामना गर्नुपर्ने बताउनुभयो ।

एभरेष्टले स्थापनादेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको सबैलाई थाह भएकै हो भन्दै प्राचार्य पुरीले भन्नुभयो, ‘हामी संख्यामा धेरै बनाउन हैन सिमित विद्यार्थी लिएर विश्वस्तरीय गुणस्तरको शिक्षा दिन चाहन्छौं । त्यसैले विद्यार्थीको सर्वाङ्गीण विकास होस भनेर भौतिक संरचना पनि त्यसै गरि बनाइएको छ ।’

उहाँले पछिल्लो समय प्रबिधिको प्रयोगको नाममा दुरुपयोग गर्ने क्रम समेत बढेको भन्दै एभरेष्टका विद्यार्थीले मोबाईल, ल्यापटप लगायतका ग्याजेटको सदुपयोग मात्र गर्ने विश्वास ब्यक्त गर्नुभयो । ‘आईसीटी अहिलेको युगमा अपरिहार्य हो’ प्राचार्य पुरीले भन्नुभयो, ‘दुरुपयोग गर्ने लत लागे यो लागुऔषध जस्तै हो, यसले विद्यार्थीको भविष्य र अभिभावकको सपना समेत चकनाचुर बनाउँछ ।’

विद्यालयका अध्यक्ष विनोद ढकालले एसईई पछि भविष्य बनाउन लक्ष्य बनाउने बेला भएको बताउनुभयो । उहाँले यो बेलालाई अझ भविष्यका लागी जग बलियो बनाउन वर्तमानमा मेहनत गर्ने बेलाका रूपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले एभरेष्टका विद्यार्थी जुनसुकै क्षेत्रमा गएपनि अब्बल हुनुपर्ने आफूहरूको चाहना रहेको बताउनुभयो ।

कार्यक्रममा नयाँ विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा ११ का छात्र इशल भट्टराईले एभरेष्टको विद्यार्थी हुन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले एभरेष्टको शैक्षिक वातावरण, शिक्षक शिक्षिकाको व्यवहार, भौतिक संरचनालगायतका सबै पक्षले शैक्षिक उन्नयनका लागि उत्प्रेरित गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२४-०८-०२ , समय : ०७:१६:०४ , १२ महिना अगाडि