मनसुनी वर्षाले देशभर बाढी र पहिरो, जनजीवन प्रभावित

देशभर अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडक यातायात र हवाई सेवा प्रभावित बनेको छ । बंगालको खाडीबाट उत्पन्न जलवाष्पयुक्त हावा र न्यूनचापीय प्रणालीका कारण भएको बदलीले भारी वर्षा हुँदा देशको प्रमुख राजमार्ग शुक्रबार दिनभर अस्तव्यस्त बन्यो ।

मुख्य राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध, हवाई सेवा प्रभावित

निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौंको बाग्मती, विष्णुमती, धोबिखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च तहसम्म पुगेको छ ।

बिहीबारदेखि निरन्तर वर्षा भएसँगै जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकास्थित बाग्मती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खुखोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदीतटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले ललितपुर, मकवानपुर, सर्लाही र रौतहटका नदीतटीय क्षेत्रहरूमा शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबारदेखि शुक्रबार साँझसम्म कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मधेस प्रदेश, लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, गण्डकी र बाग्मती प्रदेशका अधिकांश साना नदीहरूमा बहाव सतर्कता तह आसपास रहेको छ । साथै, आगामी १२ घण्टा देशका विभिन्न नदीमा बाढीको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै, विभागका अनुसार कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । २४ घण्टाको अवधिमा झापाको अनारमणीमा २ सय ३ मिलिमिटर, चन्द्रगढी विमानस्थलमा २ सय ६० मिलिमिटर र इलाममा २ सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर, बूढानीलकण्ठमा ६५ मिलिमिटर र काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । ललितपुरको लेलेमा १ सय १५ दशमलव ५ र गोदावरीमा ९३ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

त्यस्तै, कोशी प्रदेशअन्तर्गत झापाका चार स्थान र इलामको एक स्थानमा अति भारी वर्षा भएको छ । महाशाखाले सार्वजनिक गरेको विवरणनुसार झापास्थित चन्द्रगढी विमानस्थलमा ३ सय १ मिलिमिटर, अनारमणी बिर्तामा २ सय ५२ मिलिमिटर, गौरादहमा २ सय ५० दशमलव ४ र केचनामा २ सय ३४ दशमलव ४ तथा इलामको कन्काई मैनाचुलीमा २ सय ९८ दशमलव ६ मिलिमिटर वर्षा भएको हो । मौसमविद्का अनुसार २४ घण्टामा २ सय मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

प्रकाशित मिति: २०२४-०९-२८ , समय : ०९:२९:५९ , १० महिना अगाडि