
विराटनगर । एमाले र कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्याक्रम तुरुन्तै कार्यान्वयनमा लैजाने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त रुपमा तयार पारेर सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम कार्तिकको पहिलो हप्तासम्ममा मन्त्रिपरिषदको बैठक बसेर कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले हिजो बिहीबार न्युनतम साझा कार्यक्रम मुख्यमन्त्री कार्की र काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई बुझाएको थियो । लगत्तै काँग्रेस संसदीय दलका नेता थापाले कार्यान्वयनमा लैजान आग्रह गर्दै मुख्यमन्त्री कार्कीलाई बुझाउनुभयो ।
गएको असोज ६ गते न्यूनतम साझा कार्यक्रम बनाउन प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो ।
एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङसहितको कार्यदलले न्यूनतम साझा कार्यक्रम बनाएको हो ।
यस्तो छ संयुक्त सरकारको प्राथमिकता
न्यूनतम साझा कार्यक्रममा कोशी प्रदेशको स्थायी भौतिक संरचना निर्माणको कामलाई प्राथमिकतामा राख्ने, प्रदेशका सबै मन्त्रालय, निकाय र विभाग तथा प्रदेश सभाका सबै काम एउटै क्षेत्रबाट गर्ने गरी प्राथमिकता दिइने उल्लेख छ ।
यस्तै बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिको रोकथाम र क्षति भएका संरचनाको मर्मत सम्भार तथा पूनःनिर्माण गर्न दीर्घकालीन प्रकृतिको एक कोष स्थापना गरी व्यवस्थित ढंगले कोषको संचालन गर्ने, प्राकृतिक विपत्तिमा उद्दार, राहत निर्माण पुनः निर्माण मर्मत तथा सम्भार जस्ता उत्पन्न हुने परिस्थिति देखिएमा वा त्यस्तो परिस्थितिबाट धनजन र भौतिक पूर्वाधारको क्षतिको व्यवस्थापनका लागि प्रदेश सरकार चालु आर्थिक वर्षको कतिपयपूँजीगत कार्यक्रमको स्थगन र चालु खर्चमा कटौती गरी त्यसबाट प्राप्त हुने रकमलाई विपद भौतिक पूर्वाधार निर्माण तथा पुनः निर्माण कोषमा प्रदेश सरकारको तर्फबाट निकासा गरी विपदबाट भएका क्षतिको निर्माण तथा पुनः निर्माण कार्यलाई अघि बढाईने भएको छ ।
प्रकाशित मिति: २०२४-१०-१८ , समय : १०:१३:५९ , ९ महिना अगाडि