
बंगलादेशमा नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुशको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । उनीहरूले बिहीबार साँझ शपथ ग्रहण गरेका हुन् । नवगठित अन्तरिम सरकार १७ सदस्यीय हुनेछ । बंगलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले अन्तरिम सरकारका सबै सदस्यहरूको संक्षिप्त विवरण प्रकाशित गरेको छ ।
डा.मोहम्मद युनुस
प्रोफेसर मुहम्मद युनुस ग्रामीण बैंकका संस्थापक हुन् । ग्रामीण बैंकको स्थापना, लघु कर्जा र लघुवित्तको अवधारणालाई प्रभावकारी रूपमा गरिबीको उन्मुलन गर्ने साधन बनाएकोमा डा. युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
उनले १९९८ देखि २०२१ सम्म संयुक्त राष्ट्र संघलाई प्रत्यक्ष सहयोग गर्ने सार्वजनिक परोपकारी संस्था संयुक्त राष्ट्र फाउन्डेसनको बोर्ड अफ डाइरेक्टर बनेर काम गरेका थिए ।
युनुसले अमेरिकालगायत अन्य धेरै देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् ।
डा. सालेहुद्दीन अहमद
डा. सालेहुद्दीन अहमद २००५ देखि २००९ सम्म बंगलादेश बैंकको ९औँ गभर्नरको रूपमा काम गरेका व्यक्ति हुन् ।
आफ्नो कार्यकालमा उनले बैंकिङ क्षेत्रमा अनुशासन कायम गर्ने र केन्द्रीय बैंकको सञ्चालनलाई आधुनिकीकरण गर्ने उद्देश्यले धेरै सुधारका कामहरू गरे ।
उनले आफ्नो करियर १९७० मा ढाका विश्वविद्यालयमा अर्थशास्त्रीका रूपमा शुरू गरेका थिए । त्यसपछि, १९७१ मा पाकिस्तानको तत्कालीन सिभिल सर्भिसमा भर्ना भए तर, १९७२ मा ढाका विश्वविद्यालयमा लेक्चररको रूपमा फर्किए । वर्षौंसम्म उनी विभिन्न पदमा रहेर काम गरेका अनुभवी व्यक्ति हुन् ।
निवृत्तब्रिगेडियर जनरल एम सखावत हुसेन
एम सखावत हुसेन बंगलादेशका पूर्वनिर्वाचन आयुक्त (२००७-२०१२) रहिसकेका व्यक्ति हुन् । उनी बंगलादेश सेनामा ब्रिगेडियर जनरल (निवृत्त) थिए । उनले रक्षा विश्लेषकका रूपमा ३२ भन्दा बढी पुस्तक लेखेका छन् ।
सखावतले बंगलादेशको सबैभन्दा ठूलो वाणिज्य बैंक सोनाली बैंकको सञ्चालक समितिमा दुई वर्ष सेवा गरेका थिए भने जर्मनीमा नाटो अभ्यासमा पनि भाग लिएका थिए ।
उनले राइनमा बेलायती सेनासँगको सैन्य अभ्यासमा भाग लिन जर्मनीको पहिलो बंगलादेशी सैन्य प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
डा.मोहम्मद नजरुल इस्लाम (आसिफ नजरुल)
आसिफ नजरुल भनेर चिनिने डा. इस्लाम कानूनका प्राध्यापक, अनुसन्धानकर्ता र नागरिक समाजका कार्यकर्ता हुन् । उनले प्रमुख जर्नल र पुस्तकहरूमा संवैधानिक, अन्तर्राष्ट्रिय कानूनी मुद्दाहरूमा धेरै अनुसन्धान पत्रहरू लेखेका छन् ।
उनले संवैधानिक सुधार, स्वच्छ निर्वाचन र सुशासनका विषयमा अमेरिका, युरोप र दक्षिण एसियामा भएका विभिन्न सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गरेका थिए ।उनी सन् २०११-१७ सम्म दक्षिण एसियाली मानव अधिकारको ब्यूरो सदस्य थिए ।
आदिलुर रहमान खान
आदिलुर रहमान खान मानव अधिकार संस्थाका संस्थापक हुन् । उनी वकिल र बंगलादेशका पूर्वनायब महान्यायाधिवक्ता हुन् ।खान अक्टोबर २०२२ देखि मानव अधिकारका लागि अन्तर्राष्ट्रिय महासंघको महासचिव हुन् ।
अदिलुर रहमान खानले ढाका विश्वविद्यालयमा कानूनको अध्ययन गरेका थिए । उनी लेफ्टिनेन्ट जनरल हुसेन मोहम्मद एरशाद विरुद्धको लोकतान्त्रिक आन्दोलनको हिस्सा थिए ।उनले ढाका विश्वविद्यालय र भ्रिजे युनिभर्सिटी ब्रसेलबाट कानूनमा स्नातकोत्तर गरेका छन् ।
एएफ हसन आरिफ
एएफ हसन आरिफ बंगलादेशको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता हुन् र उनी सन् १९७० देखि अभ्यास गर्दै आएका छन् ।उनले २००१ देखि २००५ सम्म बंगलादेशका लागि महान्यायाधिवक्ताको पद सम्हालेका थिए । उनी २००८ मा बनेको कार्यवाहक सरकारका क्याबिनेट मन्त्री भएका थिए ।
मो तौहिद हुसेन
मोहम्मद तौहिद हुसेन बंगलादेशका पूर्वविदेश सचिव हुन् । उनी दक्षिण अफ्रिकाका लागि बंगलादेशका पूर्व उच्चायुक्त पनि रहेर काम गरिसका व्यक्ति हुन् ।
सैयदा रिजवाना हसन
सैयदा रिजवाना हसन बंगलादेश पर्यावरण वकील संघकी प्रमुख कार्यकारी हुन् । उनी वातावरणीय कानून गठबन्धन विश्वव्यापी, र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघहरूको वातावरणीय कानून आयोगको सदस्य हुन् ।
सुप्रदीप चकमा
सुप्रदीप चकमा चटगाउँ पहाड क्षेत्र विकास बोर्डका अध्यक्ष हुन् । उनले यसअघि भियतनाम र मेक्सिकोका लागि बंगलादेशका राजदूतका रूपमा काम गरेका थिए ।
फरिदा अख्तर
फरिदा अख्तर कृषि, समुद्री मत्स्यपालन, जनसंख्या र विकासका मुद्दाका शोधकर्ता हुन् । उनले स्थापना गरेको संगठन युबीआईएनआईजीले ३ लाख किसान परिवारसँगै जैविक विविधतामा आधारित खेती प्रणाली सञ्चालन गर्छ ।
विधान रञ्जनरोय
प्रोफेसर विधान रञ्जन रोय पोद्दार बंगलादेशको मयमनसिंहमा मनोविज्ञान विशेषज्ञ हुन् । उनी नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड हस्पिटलमा मनोचिकित्सा विभागका निर्देशक सह प्राध्यापक हुन् ।
शर्मीन मुर्शिद
शर्मीन मुर्शिद मानवअधिकार संगठन ब्रोटीकी प्रमुख कार्यकारी अधिकृत हुन् । सन् २००१ देखि संस्थाले सीमान्तकृत समूह, विशेषगरी आदिवासी जनजातिको अधिकारका लागि काम गर्दै आएको छ ।
एएफएम खालिद हुसेन
अबुल फयेज मुहम्मद खालिद हुसेन इस्लामिक विद्वान, शिक्षाविद्, लेखक, शोधकर्ता, सम्पादक, अन्तर्राष्ट्रिय इस्लामिक वक्ता र समाज सुधारक हुन् ।
फारुक-ए-आजम
नौसेना कमाण्डो फारुक-ए-आजम एक स्वतन्त्रता सेनानी हुन् जसलाई ‘वीर प्रतीक’ सम्मानित गरिएको थियो ।
१९७१ मा मुक्ति संग्रामको शुरुवातमा फारुक-ए-आजमले ‘अपरेशन ज्याकपोट’ मुक्ति संग्रामको नेतृत्व गरेका थिए । उनी चटगाउँ बन्दरगाहमा आक्रमण गर्न गठित टोलीका डेपुटी कमाण्डर थिए ।
नुरजहाँ बेगम
नुरजहान बेगम ग्रामीण बैंकको स्थापनाकालमा प्रोफेसर मुहम्मद युनुसका प्रारम्भिक सहयोगी हुन् ।
नाहिद इस्लाम
नाहिद इस्लाम एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन् जसले बंगलादेश कोटा सुधार आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।
सोही आन्दोलनका कारण शेख हसिनाको सरकारको पतन भएको थियो । उनी १९९८ मा ढाकामा जन्मेका थिए र उनी ढाका विश्वविद्यालयमा २०१६-१७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन् । उनी २६ वर्षका विद्यार्थी हुन् ।
आसिफ महमुद
आसिफ महमुद भेदभाव विरुद्धको आन्दोलनका प्रमुख संयोजक मध्येका एक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयमा २०१७-१८ ब्याचका भाषाविज्ञान विभागका विद्यार्थी हुन् । उनी ढाका विश्वविद्यालयको छात्र अधिकार परिषद्का अध्यक्ष पनि थिए । महमुद पनि उमेरले जम्मा २६ वर्षका रहेका छन् ।
प्रकाशित मिति: २०२४-०८-०९ , समय : १४:१०:१२ , १२ महिना अगाडि