
विराटनगर : नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टीलाई बलियो बनाउन जनसंगठनको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा नेपाल खेलकुद महासंघ मोरङको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ढकालले पार्टीलाई बलियो बनाउन सम्पूर्ण जनसंगठन एक भएर लाग्नु पर्ने बताउनु भएको हो।
ढकालले दोस्रो अधिवेशनमा बोल्दै खेलकुद महासंघ एमालेको सबै भन्दा सक्रिय जनसंगठन रहेको भन्दै प्रशंसा समेत गर्नु भएको थियो। उहाँले खेलकुद महासंघले यस्तै सक्रिय साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको अधिकारका लागि लाग्नु पर्ने समेत धारणा व्यक्त गर्नु भएको थियो।
त्यस्तै , अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेलक्षेत्रलाई सक्रिय बनाउन देशैभरि खेल प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताउनु भएको थियो।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव समेत रहनु भएको बस्नेतले खेल गति नै खेलाडीको प्रगति भन्ने मूल नारालाई अनुसरण गर्दै महासंघले खेलाडीले खेल खेलेरै जीवनयापन गर्न सक्ने गरि नीति निर्माण गर्न पहल गरिरहेको समेत बताउनु भएको थियो।
प्रकाशित मिति: २०२५-०१-१८ , समय : १८:४७:५२ , ६ महिना अगाडि